बैतडी–निर्वाचन आयोगको कार्यतालिका अनुसार बैतडीमा पनि फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु हुने भएको छ । यही मंसिर १७ गतेदेखि जिल्लाका स्थानीय तहका केन्द्रमै गएर फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गरिने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।
पहिलो चरणमा जिल्लाका ५ ओटा स्थानीय तह र दोश्रो चरणमा जिल्लाका ५ ओटा स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन गरिने उनले बताए । मंसिर १७ गतेदेखि २६ गते सम्म पहिलो चरणमा फोटो सहितको मतदाता नामावली संकलन गरिने फुँयालले जानकारी दिए ।
पहिलो चरणमा दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयमै फोटो सहितको मतदाता नामावली संकलन गरिनेछ भने अन्य स्थानीय तहको हकमा पालिकाको केन्द्रमा फोटो सहितको मतदाता नामावली संकलन गरिने छ ।
यस्तै दोश्रो चरणमा मंसिर २८ गतेदेखि पौष ८ गते सम्म मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । दोश्रो चरणमा पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने जनाइएको छ ।
१६ बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकलाई सम्बन्धित पालिकाको केन्द्रमा आएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन समेत जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र सक्कलै लिएर आउन समेत आग्रह गरिएको छ ।
बैतडीमा अहिले सम्म १ लाख ४५ हजार बढी नागरिकले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराईसकेका छन् ।