बैतडी– २८ बर्षको कलिलो उमेरमा श्रीमानको मृत्युपछि विचल्लीमा परेकी बैतडीको सुर्नया गाउँपालिका ४ की धाना दमाईलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । शिवांश हेल्प फाउण्डेसनले अभियान मार्फत संकलन गरेको १ लाख २२ हजार ७४० रुपैंया हस्तान्तरण गरेको फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए ।
तीन सन्तानकी आमा धानालाई परिवार चलाउन निकै असहज भईरहेको खबर पाएपछि आफूहरु घरमै पुगेर धानाको परिवारको अवस्था बुझेको र त्यसपछि शिवांश हेल्प फाउण्डेसन मार्फत सहयोग अभियान सञ्चालन गरिएको उनले बताए ।
धाना दमाईको परिवारका लागि सञ्चालन गरिएको सहयोग अभियानमा नेपाल प्रहरीमा कार्यरत दार्चुलाका लेकम गाउँपालिका ४ टकनाका अनिल परियारले सहयोग गरेका थिए ।
संकलित रकम मध्ये एकलाख रुपैंया बैंकमा खाता खोलेर मुद्दती खातामा जमा गरिएको छ भने अन्य रकम सिलाई व्यवसाय र बाख्रा खरीदमा लगानि गरेको धानाले बताइन् ।
शिवांश हेल्प फाउण्डेसन मार्फत भएको सहयोगले आफूलाई बालबच्चाको पालनपोषणमा सहयोग पुग्ने उनले बताइन् । बालबालिकाहरुलाई भोलीका दिनमा शिक्षादिक्षा दिन सहज होस भनेर आफूले संकलित रकम मुद्दती खातामा जमा गरेको उनले सुनाइन् ।
शिवांश हेल्प फाउण्डेसनले समस्यामा परेका विभिन्न नागरिकलाई आर्थिक तथा अन्य सहयोग गर्दै आईरहेको छ ।