Sagun Khabar
बैतडी सदरमुकाममा जहिल्यै पार्किङको समस्या 

बैतडी–बैतडी सदरमुकाममा गाडी पार्किङको समस्या दिनानुदिन बल्झिँदै गएको छ । सवारी साधनको चाप बढ्दै गएको र ठाउँ साँघुरो हुँदा पार्किङको समस्या बढ्दै गएको छ । सवारी धनीहरुले बजारमै पार्किङ गर्न थालेपछि बजार पुग्नेहरुलाई झन् समस्या हुने गरेको छ । 

गोठलापानी बजारको माथि बसपार्क निर्माण गरिएको भएपनि ठूला सवारी साधन बाहेक अरुले पार्किङका लागि जाने गरेका छैनन् । यात्रुहरु बजारमै हुने र बसपार्क बजारभन्दा माथि भएकाले पार्किङका लागि समस्या हुने गरेको चालक जयसिंह भण्डारीले बताए । उनले भने ‘यात्रुहरु सबै बजारबाटै चढ्ने र बजारमै झर्ने हुन्छन् । त्यसैले बजारमा जिप रोक्नुको विकल्प छैन् ।’

Atrya hospital

सवारी साधन बीच बजारमै रोक्दा व्यापारीहरुलाई समस्या हुने गरेको छ । सवारी साधन बजार र पसलको अगाडि पार्किङ गर्दा निकै समस्या हुने गरेको गोठलापानीका व्यापारी प्रदीप भट्टले बताए । उनले भने ‘पसलको अगाडि नै पार्किङ हुन्छ । ग्राहकहरुलाई समेत आउने जाने ठाउँ हुँदैन् । यसले गर्दा धेरै समस्या भएको छ ।’

गोठलापानी बजारमा छोटो दुरीका लागि छुट्ने सवारी साधनहरु अधिकांश बजारमै पार्किङ गर्ने गरिएको छ । यसले गर्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । ट्राफिक प्रहरीलाई समेत सवारी साधन व्यवस्थापनमा निकै समस्या हुने गरेको छ । 

सदरमुकाम क्षेत्रमा देखिएको पार्किङको समस्या समाधानका लागि प्रहरीसंग मिलेर केही कदम अघि बढाइने दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन् ‘अहिले देखिएको पार्किङको समस्या समाधानका लागि केही पहल गर्छौं । सबै सरोकारवाला बसेर यो बिषयमा छलफल गर्छौं ।’
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update