बैतडी–नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएका छन् । प्रत्येक पालिकामा पालिकास्तरीय कमिटि गठन गर्ने काम भईरहेको नेकपा (एकीकृत समाजवादी)की केन्द्रिय सदस्य माया भट्टले बताइन् ।
नेकपा (एस) मा अहिले कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको उनले दाबी गरिन् । उनले भनिन् ‘कम्युनिष्ट आन्दोलनका पुराना नेताहरु हामी अहिले नेकपा (एकीकृत समाजवादी)मा छौं । अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ ।’
कम्युनिष्ट आन्दोलनको बाटोबाट एमाले पछाडि हटेपछि आफूहरुले नयाँ दल खोलेको उनको दाबी छ । अहिले जिल्लाभरी संगठन निर्माण अभियान चलिरहेको उनले बताइन् ।
बैतडीका १० ओटा स्थानीय तहमध्ये ५ ओटा स्थानीय तहमा सो पार्टीले पालिकास्तरीय कमिटि गठन गरिसकेको पार्टीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा कमिटि गठन गरिसकिएको उनले बताए ।
जिल्लाका अन्य स्थानीय तहहरुमा पनि छिट्टै कमिटि गठन गरिने भट्टले बताए ।