बैतडी–संघीय सरकारले सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुको न्यूनत तलब १५ हजार घोषणा गरेको भएपनि त्यो घोषणा स्थानीय तहमा कार्यान्वयन हुन निकै समस्या भईरहेको छ । अहिले बैतडीका विभिन्न ठाउँका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु आन्दोलित समेत भएका छन् ।
केही स्थानीय तहहरुले संघीय सरकारले तोके बमोजीम न्यूनतम तलब उपलब्ध गराउन थालेका छन् भने केही तहमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् । केही स्थानीय तहहरुले संघीय सरकारले तोके अनुसार नभएर केही रकम वृद्धि गरेर विवाद हल गर्ने प्रयास गरेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिकाका बालविकास सहजकर्ताहरुले नगरपालिकाको आश्वासन पछि केही दिनका लागि आन्दोलनका कार्यक्रमका स्थगित गरेका छन् । नगरपालिकाले माग सम्बोधन गर्ने आश्वासन दिएपछि केही दिनका लागि संघर्षका कार्यक्रम स्थगित गरेको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् । उनले भनिन् ‘हामीले १० देखि ४ बजेसम्म काम गर्छौं । तर हाम्रो कामको मूल्यांकन हुन सकेको छैन् ।’
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका समस्या समाधानका लागि कार्यपालिकामा छलफल गर्ने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।
यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । भदौमा पालिकाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको बालविकास सहजकर्ता कलावती रानाले बताइन् । उनले भनिन् ‘हामीले बिहानदेखि दिनभरी काम गर्छौं । तर हाम्रो श्रम शोषण भईरहेको छ ।’
जिल्लाको पाटन नगरपालिकामा बालविकास सहजकर्ताका लागि ३ हजार र लेखापालहरुका लागि एक हजार ५ सयका दरले साविकको तलबमा वृद्धि गरिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए ।
संघीय सरकारले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका लागि तलबमान मात्रै बढाउने घोषणा गरेको तर रकम नपठाउँदा समस्या हुने गरेको स्थानीय तहहरुले जनाएका छन् । पालिकाहरुको आन्तरिक श्रोतले धान्न नसक्दा माग पूरा गराउन समस्या भएको डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बोहराले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका लगायतका केही स्थानीय तहहरुले भने बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुलाई बढे अनुसारको तलब दिन थालेका छन् ।