बैतडी –नेपाली कांग्रेस बैतडीका नवनिर्वाचित सभापति चतुरबहादुर चन्दले आगामी महाधिवेशनमा शेरबहादुर देउवालाई असहयोग नहुने बताएका छन् । चन्दलाई संस्थापन इतर सभापतिको रुपमा हेरिँदै आएको भएपनि उनले महाधिवेशनमा देउवालाई असहयोग नगर्ने बताएका हुन् ।
बैतडीमा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताहरुको समेत भोट पाएर विजयी भएका सभापति चन्दले आफ्नो गुट फरक रहेको भएपनि शेरबहादुर देउवालाई असहयोग नगर्ने बताएका हुन् । उनले भने ‘म केन्द्रिय नेताहरु कसैको पनि विरोध गर्दैन् । म शेरबहादुर दाईलाई असहयोग गर्दैन ।’
आफूले गुट परिवर्तन भने नगर्ने सभापति चन्दले बताए । अहिले जिल्लामा आएको नेपाली कांग्रेसको नवनिर्वाचित टीम सच्चा कांग्रेसीहरुको टीम भएको बताउँदै उनले कसैलाई निषेध गरेर अघि बढ्ने आफ्नो योजना नरहेको उनले सुनाए ।
बैतडीमा शेरबहादुर देउवाकै समूहमा रहेका रमेश लेखक समूहका नेताहरुले चतुरबहादुर चन्दलाई सहयोग गरेका थिए । लेखक नजिकका नेताहरु पनि सोही प्यानलबाट उम्मेद्वार बनेका थिए ।
बैतडीबाट निर्वाचित महाधिवेशन प्रतिनिधि पनि अधिकांश शेरबहादुर देउवा नजिककै छन् । चतुरबहादुर चन्द प्यानलबाट विजेता बनेका केही महाधिवेशन प्रतिनिधिहरु देउवा समूहकै रहेका छन् ।