बैतडी– बैतडीमा मानसिक स्वास्थ्य शिविरबाट ५२ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालयको आयोजनामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा ५२ जनाले सेवा लिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले बताए ।
शिविरमा मानसिक स्वास्थ्य शिविर बिशेषज्ञहरुले सेवा प्रदान गरेका थिए । २७ जना महिला र २५ जना पुरुषले शिविरमा सेवा लिएका हुन् ।
मानसिक स्वास्थ्यको बिषय ओझेलमा परेकाले मानसिक स्वास्थ्यको बिषय पनि आधारभूत स्वास्थ्यकै बिषय हो भन्ने कुरा जागृत गराउन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘मानसिक स्वास्थ्यका कार्यक्रमहरु नहुँदा विभिन्न खालका समस्याहरु बल्झिरहेका हुन्छन् । त्यसैले हामीले गत बर्षदेखि मानसिक स्वास्थ्यका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं ।’
अहिले सेवा लिएका नागरिक र अन्यहरुका लागि फेरी दोश्रो चरणमा पनि शिविर सञ्चालन गरिने योजना रहेको कार्यालय प्रमुख भट्टले बताए । उनले भने ‘मानसिक स्वास्थ्यका बिरामीहरुलाई सहज होस भनेर हामीले शिविर सञ्चालनमा ल्याएका हौं ।’
ग्रामीण क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घर नजिकै सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताइएको छ । स्थानीयस्तरमै सेवा पाएपछि नागरिक पनि खुसी भएका छन् ।