बैतडी–बैतडीका ५ ओटा स्थानीय तहमा आजदेखि फोटो सहितको मतदाता नामावली संकलन बिशेष कार्यक्रम शुरु हुँदैछ । पहिलो चरणमा ५ ओटा स्थानीय तहमा आजदेखि मतदाता नामावली संकलन कार्य शुरु हुने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।
निर्वाचन आयोगको निर्देशन अनुसार जिल्लाका १० ओटै स्थानीय तहमा फोटो सहितको मतदाता नामावली संकलन गरिने र पहिलो चरणमा ५ ओटा तहमा सो कार्य गरिने फुँयालले जानकारी दिए ।
पहिलो चरणमा आजदेखि मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयमै फोटो सहितको मतदाता नामावली संकलन गरिनेछ । दशरथचन्दमा निर्वाचन घोषणा नहुँदा सम्म मतदाता नामावली संकलन हुनेछ । अन्य स्थानीय तहको हकमा अहिले मतदाता नामावली संकलन बिशेष कार्यक्रम १० दिन सञ्चालन हुनेछ । सम्बन्धित पालिकाको केन्द्रमा फोटो सहितको मतदाता नामावली संकलन गरिने छ ।
यस्तै दोश्रो चरणमा मंसिर २८ गतेदेखि पौष ८ गते सम्म मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताउनुभयो । दोश्रो चरणमा पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने जनाइएको छ ।
१६ बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकलाई सम्बन्धित पालिकाको केन्द्रमा आएर फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन समेत जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र सक्कलै लिएर आउन समेत आग्रह गरिएको छ ।
बैतडीमा अहिले सम्म १ लाख ४५ हजार बढी नागरिकले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराईसकेका छन् ।