बैतडी– हिउँदे बर्षाका कारण बालीनादी सप्रिने भन्दै किसानहरु खुसी भएका छन् । अहिलेको हिउँदे बर्षाले बालीनाली हुर्कन र सप्रन निकै सहयोग गर्ने दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए ।
सिँचाईको अभाव भएका ठाउँमा यो बर्षाले निकै राहत पुर्याएको छ । बारीमा छरेको गहुँ, तरकारी र फलफूलका लागि समेत यो बर्षा निकै लाभदायक भएको अर्का किसान देवदत्त भट्टले बताए । उनले भने ‘यो बर्ष समयमै हिउँदे बर्षा शुरु भएको छ । यसले बालीनाली सप्रिन सहयोग पुग्दछ ।’
हिउँदे बर्षा गहुँबाली, तरकारी बाली र फलफूल खेतीका लागि निकै लाभदायक भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । अहिलेको हिउँदे बर्षा उपयुक्त समयमा भएको र यो बालीनालीहरुका लागि अमृत समान भएको उनले बताए । उनले भने ‘अहिलेको बर्षाले बालीहरुले खाद्यतत्व प्राप्त गर्दछ । यसले उत्पादनमा बढावा दिन्छ ।’
बैतडीमा १४ हजार हेक्टर जमीनमा गहुँखेती हुँदै आएकोमा आधाभन्दा बढी जमीनमा सिँचाईको सुविधा छैन् । सिँचाईको सुविधा नभएका ठाउँमा यो बर्षाले निकै राहत पुग्ने कृषि प्राविधिकहरुले बताएका छन् । यो बर्षाले हिउँदे बाली उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको कृषि शाखा प्रमुख अवस्थीले बताए ।
यसैबीच हिउँदे बर्षाका कारण चिसो बढेकाले चिसोबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । चिसोको समयमा बालबालिकाहरुलाई न्यूमोनिया लगायतका संक्रमण हुन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।
यस्तै वृद्धवृद्धाहरुमा दम लगायतका श्वासप्रश्वास सम्बन्धि विभिन्न समस्या हुन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने डा. जोशीको सुझाव छ । चिसोको समयमा तातो र झोलिलो खानेकुरामा खानुपर्नेमा उनले जोड दिए ।