बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेश समितिको उपसभापतिमा लोकराज अवस्थीले उम्मेद्वारी दिएका छन् । संस्थापन पक्षका तर्फबाट अवस्थीले उपसभापतिमा उम्मेद्वारी दिएका नेपाली कांग्रेस बैतडीका सदस्य केदार अवस्थीले बताए ।
नेपाली कांग्रेसका पुराना एवं त्यागी नेताको रुपमा अवस्थीलाई लिइन्छ । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट बैतडी क्षेत्र नम्बर १ बाट उम्मेद्वार समेत बनेका थिए । त्यो बेला कांग्रेसभित्रकै अन्तरघातले अवस्थीलाई पराजित गरिएको कुरा खुब चर्चा आउने गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष भएको बेला अवस्थी नेपाल विद्यार्थी संघ कञ्चनपुरको अध्यक्ष समेत बनेका थिए ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेका अवस्थीलाई सादगी नेताको रुपमा लिने गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिनेश भट्टले बताए । उनले भने ‘नेपाली कांग्रेसको राजनीतिमा स्वच्छ छवि बनाएका अवस्थीको उम्मेद्वारीले हामीलाई खुसी तुल्याएको छ ।’
संस्थापन पक्षले बीरबहादुर बलायरलाई सभापतिको उम्मेद्वार बनाएको छ । सोही समूहमा अवस्थी उपसभापतिका उम्मेद्वार बनेका हुन् । अवस्थीले भने, ‘मैले लामो समयसम्म पार्टीमा रहेर काम गरेको छु । साथीहरुले मूल्याकंन गर्नेछन् भन्ने आसा लिएको छु । नेपाली कांग्रेसलाई चलायमान बनाउन फेरी पनि क्रियाशील रहनेछु ।’