बैतडी –नेकपा माओवादी केन्द्रले बैतडीका सातओटा स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न गरेको छ । पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए । सबै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको उनले बताए ।
जिल्लाको पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकामा पालिका सम्मेलन सम्पन्न गरिएको छ । यस्तै दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकामा पनि सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको भट्टले जानकारी दिए ।
स्थानीय तहका सम्मेलनबाट माओवादीको एजेण्डामा नागरिकको समर्थन कायमै रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य रेणु चन्दले जानकारी दिइन् । माओवादीकै एजेण्डा अनुसार अहिले देश चलिरहेकाले माओवादीको एजेण्डा सफल भएको उनले बताइन् ।
अहिलको पालिका सम्मेलनले पनि माओवादीप्रति नागरिकको उत्साह अझै उस्तै रहेको चन्दले दाबी गरिन् । नेतृत्व तहमा महिला, दलित र पछाडि पारिएका वर्गको प्रतिनिधित्व माओवादीकै एजेण्डबाट भएको उनले जिकिर गरिन् ।