कैलाली –धनगढीमा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ५६ पदका लागि १७९ जनाको उमेदवारी परेको छ । प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ । प्रदेश निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ ।
यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन् । ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएकाले अब ५६ पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् । मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए ।
प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ । सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।
यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट , गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।
यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।
प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।