Sagun Khabar
बैतडीको सिगासमा भुवा पर्वको रौनक 

बैतडी –बैतडीको सिगासमा भुवा पर्वको रौनक छाएको छ । हरेक बर्ष मंसिर कृष्ण कृष्ण चतुर्दशी र औंसीका दिन भुवा पर्व मनाउने गरिएको स्थानीय राजेन्द्र साउँदले बताए । भुवामा महिला र पुरुषहरु देउडा खेल खेल्ने गर्दछन् । 

महाभारतमा पाण्डवहरुले विजय प्राप्त गरेको उपलक्ष्यमा भुवा पर्व मनाउन चलन चलेको साउँदले बताए । त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुशियाली स्वरूप विजय यात्राको रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती रहेको छ । 

Atrya hospital

यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो । हातमा (राको) तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर–घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन् ।

‘भोस्को’ खेलका माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिएको स्थानीय भानबहादुर बोहराले बताए । भुवा पर्व अन्न लगाएको खेतमा खेलिने पर्व हो । यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास रहिआएको स्थानीय साउँदले बताए । उनले भने ‘सिगासका विभिन्न स्थानमा यो पर्व मनाइन्छ ।’

सिगास गाउँपालिका वडा नं ८ रक्सौनस्थित खसरे मन्दिरमा भुवा मेला लाग्ने गर्दछ । सो मेलामा महिला तथा पुरुषहरुले भुवा खेल्ने गर्दछन् । यस्तै धामी झाक्रीहरु भने काँप्ने चलन रही आएको छ ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update