बैतडी –राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी चार हजार १८९ पुरुष र एक हजार २७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए ।
पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरहेकोे र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य सुरु हुने जनाइएको छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले अनिवार्य रुपमा पत्र बनाउनुपर्ने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । विवरण सङ्कलन गरेर ल्याएपछि त्यसैको आधारमा परिचय पत्र बाँडिने उनले बताए । उनले भने, ‘नागरिकता पाएकै दिन सबै कागजपत्र पेस गरेमा परिचयपत्रका लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाएका छौ ।’
बहुउपयोगी प्रमाणपत्रका रुपमा रहेको परिचय पत्र भएकाले अन्य परिचय पत्र साथमा राख्नुपर्ने झन्झट नहुने हुँदा विवरण दिन नहिचकिचाउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरे । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्तिलाई आफ्नो नागरिकता र बुबा आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।