कैलाली –धनगढीमा जारी नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको छ ।
राती ९ बजेदेखि कैलाली कांग्रेसको पार्टी कार्यालयमा मतगणना हुने कैलाली कांग्रेसका प्रचारप्रसार समिति संयोजक नृप सुनारले बताए ।
प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ । ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ । यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन् । ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएकाले अब ५६ पदका लागि मतदान भएको निर्वाचन समितिले जनाएको छ । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् ।
प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ । सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।
यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट , गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।
यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्धामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन् ।
यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ ।