बैतडी –बैतडीमा महाकाली कोरीडोर अन्तर्गत सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले घरमा क्षति पुर्याएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ४ छापरखिन्नका बलवीर चन्द र पञ्चेश्वर कैनीगाडका गोरख चन्दको घरमा क्षति पुगेको हो ।
बलवीर चन्दको घरको गोठमा ढुंगा लागेर क्षति भएको छ भने गोरख चन्दको घरको एकतिरको भित्ता भत्काएको स्थानीय जय चन्दले बताए । आज सडक निर्माणका क्रममा खसेको ढुंगाले दुवै घरमा क्षति पुर्याएको उनले बताए ।
गाउँमाथिबाट निर्माण भईरहेको महाकाली कोरीडोर अन्तर्गत सडक निर्माण गर्ने क्रममा ढुंगा खसेको स्थानीयहरुले बताएका छन् । सडक निर्माण गर्दा आवश्यक सावधानी नपाउँदा क्षति भएको स्थानीयहरुको गुनासो रही आएको छ ।
सडक निर्माणका क्रममा ढुंगा खसेर अन्य क्षति पनि हुन सक्ने भएकाले सावधानी अपनाएर सडक निर्माण गर्न स्थानीयहरुले माग गरेका चन्दले बताए ।