Sagun Khabar
महिला स्वास्थ्य स्वयंसेविकाका झोला ‘रित्तै’ 

बैतडी –गाउँका डाक्टर भनेर चिनिने महिला स्वास्थ्य स्वयं सेविकाहरुका झोला रित्ता भएका छन् । स्वास्थ्यको अधिकार स्थानीय तहमा आएपछि महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई कुनै सुविधा प्राप्त नभएको उनीहरुले गुनासो गरेका छन् । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुको झोलामा विभिन्न खालका औषधि, परिवार नियोजनाका अस्थायी साधन हुने भएपनि अचेल भने उनीहरुका झोला रित्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आमा समूहको बैठक बसाउन रजिष्टर समेत नपाएको गुनासो गरेका छन् । 

Atrya hospital

लामो समयदेखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्नुको सट्टा नगरपालिकाले भएको सुविधा समेत कटौती गरेको उनीहरुले आरोप लगाएका छन् । ‘अहिले पनि हामीसंग झोलामा कुनै प्रकारको औषधि छैन् । तर गाउँका मानिस पहिलाको जस्तै औषधि माग्न आउँछन् । हामीले कहाँबाट दिने ?’दशरथचन्द नगरपालिका १ की महिला स्वास्थ्य स्वयंसेविका हरिप्रिया भट्टले भनिन, ‘स्थानीय सरकार आएपछि हामीलाई केही सजिलो होला भनेर सोचेका थियौं । तर हामीलाई झन् समस्या भएको छ ।’

स्वास्थ्यको अधिकार स्थानीय तह मातहत आएपछि आफूहरुले बैठक बसाउन रजिष्टर समेत नपाएको अर्की महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले गुनासो गरिन् । पहिलाको तुलनामा तालिमहरु समेत कम हुँदै गएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिमा समस्या हुँदै आएको उनले बताइन् । उनले भनिन् ‘पहिला पहिला तालिमहरु हुन्थे हामीहरुलाई पनि ज्ञान मिल्थ्यो । अहिले त हामीसंग न औषधि छ न तालिम । यसले हामीहरुलाई धेरै समस्या भएको छ ।’

दशरथचन्द नगरपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकाहरुले तीन बर्ष अगाडि भिटामीन ए खुवाउँदाको भत्ता समेत अहिले सम्म नपाएको गुनासो गरेका छन् । तालिम, पोशाक, भत्ता सबै कुरामा नगरपालिकाले विभेद गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले गुनासो गरेका छन् । 

आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले भूमिका खेलेको भएपनि नगरपालिकाले उनीहरुको महत्व नबुझेको आरोप लागेको छ ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update