बैतडी –बैतडीमा सोमबार साँझ जिप दुर्घटनामा एक नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए ।
उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताए ।
चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।