बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र पबितामा विद्यालय भवन निर्माण हुने भएपछि विरोध हुन थालेको छ । गत बर्ष विरोधकै बीच कमलेश्वर चन्द्रमणी आधारभूत विद्यालयको भवनमा केन्द्र सारेपछि विवाद हुँदै आएको थियो ।
त्यो बेला सो विद्यालयका लागि अर्को भवन निर्माण गरेर पुरानो भवनमा गाउँपालिकाको केन्द्र राखिएको छ । सुर्नया गाउँपालिकाको केन्द्र रहेको ठाउँ अहिले पनि विद्यालयकै नाममा रहेको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर गाउँपालिकालाई विद्यालय भवन उपलब्ध गराएको थियो ।
केन्द्रका बिषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ भने जमीन पनि गाउँपालिकाको नाममा आईसकेको छैन् ।
घुमाउरो रुपमा विद्यालय भवन पालिकाले प्रयोग गर्ने हिसाबले पुराना ठाउँमा विद्यालय भवन बनाउन लागिएको स्थानीयहरुको भनाई छ । विद्यालय सारीसकेपछि अर्को सारेकै ठाउँमा भवन निर्माण हुनुपर्ने भएपनि पालिका भएकै ठाउँमा भवन बनाउन उपयुक्त नहुने स्थानीयहरुले बताएका छन् ।
संघीय सरकारको बिशेष अनुदान अन्तर्गत विद्यालय भवन निर्माणका लागि १ करोड २५ लाख बजेट विनियोजन भएको र भवन निर्माणका लागि ९० लाखमा ठेक्का सम्झौता भईसकेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले बताए । उनले भने ‘अहिले विद्यालय भवन निर्माणका लागि बजेट आएको छ । यो ठाउँमा हामीले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेका छौं । पछि गाउँपालिकालाई आवश्यक भए विद्यालयसंग सम्झौता गरेर प्रयोग गर्न सकिन्छ ।’
यता विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बिष्टले अहिले विद्यालयकै नाममा जमीन भएकाले पुरानो ठाउँमा विद्यालयको भवन निर्माण गर्ने सहमति भएको बताए । तर अहिले विद्यालय सञ्चालन भएको ठाउँमा भवनको अभाव भएपनि अरु थप भवनहरु निर्माण गर्ने सहमति भएको उनले बताए ।
गाउँपालिकाको नाममा जमीन नभएकै कारण विद्यालयको नाममा भवन निर्माण गरेर पालिकाले प्रयोग गर्ने हिसाबले भवन निर्माण गरिन लागेको बताइएको छ । तर यसमा त्यहाँका स्थानीयहरुले विरोध गर्दै आएका छन् ।
विद्यालय व्यवस्थापन समितिले पालिकालाई जमीन दिने निर्णय गरेको ठाउँमा विद्यालयको भवन निर्माण हुन नसक्ने स्थानीय नवराज मडैले बताए । उनले भने ‘१४ जना विद्यार्थी भएको विद्यालयको संरचना बनाउन त्यति ठूलो रकम खर्च गर्नुपर्ने आवश्यकता हो र ?विद्यार्थी बढी भएका विद्यालयमा भवन अभाव छ । तर कम विद्यार्थी भएका विद्यालयका लागि यति ठूलो रकम किन खर्च गर्नुपर्यो ?’
विद्यालयले भने विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत रहेका बताएको छ ।