बैतडी– कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिम रहेको भन्दै बैतडीका स्थानीय तहहरुलाई क्वारेन्टाइन र आइसोलेसन निर्माण गरी पूर्वतयारीमा रहन आग्रह गरिएको छ । मंगलबार बसेको जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले सीमा नाकाबाट नेपाल फर्कनेहरुको अनिवार्य एन्टीजेन परीक्षण गर्ने निर्णय पनि गरिएको छ ।
सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ आएमा उनीहरुलाई आइसोलेसनमा राख्ने र आइसोलेसनको व्यवस्थापनका लागि दशरथचन्द नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
यस्तै जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानका लागि भवन निर्माण कार्यलाई तीव्रता दिने र मौज्दात अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने निर्णय समेत भएको उनले सुनाए ।
यस्तै विद्यालयमा पठनपाठन गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक सवारी साधनहरुमा पनि अनिवार्य जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।