बैतडी –संगठन विस्तारको अभियानमा रहेका नेकपा माओवादी केन्द्रले जिल्लाका १० ओटै स्थानीय तहमा पालिका कमिटि गठन गरिसकेको छ । मंसिर २५ गते हुने प्रदेश सम्मेलनलाई मध्यनजर गरेर सबै पालिकामा पालिकास्तरीय कमिटि गठन भईसकेको माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए ।
यही मंसिर ११ गतेबाट पालिका सम्मेलन शुरु गरिएको र सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको उनले बताए । सबै ठाउँमा ५५ सदस्यीय पालिकास्तरीय कमिटि सर्वसम्मत चयन गरिएको भट्टले बताए ।
दशरथचन्द नगरपालिकामा गोपाल बोहरा, पाटन नगरपालिकामा तर्कसिंह ठगुन्ना, मेलौली नगरपालिकामा भीमबहादुर चन्द र पुर्चौंडी नगरपालिकामा आनन्दसिंह धामी अध्यक्ष रहेको कमिटि गठन गरिएको छ ।
यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँद, सुर्नया गाउँपालिकामा रामबहादुर बिष्ट, दोगडाकेदार गाउँपालिकामा तारासिंह कुँवर, डिलाशैनी गाउँपालिकामा जगदीश नाथ, शिवनाथ गाउँपालिकामा गोरख साउँद अध्यक्ष रहेको कमिटि गठन गरिएको छ । पञ्चेश्वर गाउँपालिकामा आज कमिटि गठन गरिएको भएपनि नामावली आइनसकेको संयोजक भट्टले बताए ।