बैतडी –बालविवाहले पार्ने असरका बारेमा जानकारी भएपछि अहिले बैतडीका किशोरकिशोरीहरु बालविवाह अन्त्य गर्ने अभियानमा सक्रिय भएका छन् । बस्ती तथा विद्यालयहरुमा किशोरकिशोरी समूह बनाएर उनीहरु बालविवाह रोक्ने अभियानमा लागेका हुन् ।
बालविवाहले समग्र मानिसको जीवनमा प्रभाव पार्ने भएकाले आफूहरु यो अभियानमा लागेको मेलौली २ की किशोरी सहजकर्ता सुशीला भट्टले बताइन् । उनले भनिन् ‘अहिले पहिलाको तुलानामा बालविवाह घटेको छ । तर भागेर हुने बालविवाह चुनौतीको रुपमा अगाडि आएको छ । त्यसैले हामीले गाउँगाउँमा बालविवाह गर्नु हुँदैन् भनेर सम्झाईरहेका छौं ।’
बालविवाह अन्त्यका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा भिएसओ, पिसविन लगायतका संस्थाहरुले किशोरकिशोरीहरुलाई उत्प्रेरणा दिईरहेका छन् । जिल्लाका विभिन्न ठाउँमा किशोरकिशोरी समूह गठन गरेर बालविवाहले पार्ने असरका बारेमा रुपान्तरण कक्षा सञ्चालन भईरहेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
अहिले जिल्लाका ४ ओटा स्थानीय तहमा २४ ओटा समूह गठन गरेर बालविवाह अन्त्यका लागि छलफल र अन्तरक्रिया गर्ने गरिएको छ । बालविवाहले विभिन्न खालका समस्या निम्त्याईरहेकाले त्यसको अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालन गरिएको पिसवीनका कार्यकारी प्रतिनिधि हर्क ओलीले बताए ।
गाउँ तथा विद्यालयमा सञ्चालन भईरहेका रुपान्तरण कक्षाहरुले बालविवाह अन्त्यका लागि सहयोग मिलीरहेको दशरथचन्द नगरपालिका १ का किशोर उमेश बडुले बताए । अहिले अभिभावकहरु समेत बालविवाहका बिषयमा जानकार हुन थालेका उनले बताए । उनले भने ‘हामी विद्यालयमा पनि रुपान्तरण कक्षामा छलफल गर्छौं । कक्षामा छलफल भएका कुराहरु आमाबुवालाई पनि सम्झाउने गरेका छौं ।’
रुपान्तरण कक्षामा बालविवाह अन्त्यका लागि साथै किशोरकिशोरीहरुका अन्य बिषयमा पनि छलफल हुने गरेको किशोरी सहजकर्ता लक्ष्मी कार्कीले बताइन् ।