बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेकी छिन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चन्दले खस आर्य महिला कोटामा केन्द्रिय सदस्यको उम्मेद्वारी घोषणा गरेकी हुन् ।
नेपाली कांग्रेस बैतडीको हालै सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएकी चन्दले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएकी हुन् । उनले संस्थापन इतर पक्षबाट केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेको नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्र (ख)का क्षेत्रीय सभापति शिवराज भट्टले बताए । उनले भने ‘चन्दले समूहमै छलफल गरेर उम्मेद्वारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेद्वारी दिनुहुन्छ ।’
यसअघि संस्थापन पक्षबाट नेपाली कांग्रेसका नेता उत्तरबहादुर ऐर र दिनेश भट्टले कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।