बैतडी – बैतडीमा एक ससुराले बुहारीमाथि पटक –पटक बलात्कार गरेको घटना बाहिर आएको छ । जिल्लाको सिगास गाउँपालिका ५ का मनुवा भनिने मानसिंह धामीले आफ्नै बुहारीलाई पटक पटक बलात्कार गरेको कुरा बाहिर आएको हो ।
ससुराले जबरजस्तीकरणी गर्दा पेटमा बच्चा बसेपछि यो घटना बाहिर आएको हो । अहिले पिडीत बुहारी न्यायको खोजीमा रहेकी छिन् । आफ्नै ससुराले जबरजस्ती गरेपछि बच्चा बसेको र कसैलाई भने मारिदिन्छु भन्ने धम्की आएपछि आफूले बाहिर घटना भन्न नसकेको पीडित महिलाले बताइन् ।
ससुराले पटक पटक बलात्कार गरेपछि गर्भ रहेकी ती महिला प्रहरीमा पुगेकी भएपनि प्रहरीले कानुन अनुसार मुद्दा दर्ता गर्न नमिल्ने बताए । आफूहरुसंगको कुरामा पीडित महिलाले जबरजस्ती गरेको कुरा नभनेकाले मुद्दा दर्ता गर्न नमिलेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । यो मुद्दा हाडनाता करणी भएकाले आफूले अदालतमा जान सुझाएको उनले बताए ।
पीडित महिला मुद्दा दर्ताका लागि अदालत पुगेकी भएपनि कागजात नपुग्दा मुद्दा दर्ता नभएको बताइएको छ । गत बर्ष यिनै पीडित महिलाकी छोरीमाथि सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारबाट गर्भवती बनेकी उनकी छोरीले समेत बच्चा जन्माएकी छिन् ।
छोरीको बलात्कारमा संलग्न आरोपमा ४ जना पक्राउ परेका भएपनि दुईजना छुटीसकेका छन् । बलात्कारका मुख्य आरोपी छुटिसकेका समेत पीडित महिलाले बताइन् । आफूमाथि यौन शोषण गर्ने ससुरामाथि कारवाही हुनुपर्ने उनले माग समेत गरेकी छिन् ।