Sagun Khabar
बैतडीमा प्याजको बेर्नाबाटै लाखौं आम्दानी 

बैतडी–बैतडीका विभिन्न ठाउँका किसानहरुले प्याजको बेर्नाबाट लाखौं आम्दानी गरेका छन् । व्यवसायिक रुपमा प्याजको बेर्ना राख्दै आएका किसानहरुले लाखौं आम्दानी गर्न सफल भएका हुन् । पाटन नगरपालिका ९ र दशरथचन्द नगरपालिका २ थलाल गाउँका किसानहरुले प्याजको बेर्ना बेचेर आम्दानी गर्न सफल भएका हुन् । 

अन्य बर्षको तुलनामा यो बर्ष प्याजको बेर्नाबाट बढी आम्दानी भएको दशरथचन्द नगरपालिका २ थलाल गाउँका किसान मोहन थलालले बताए । उनले भने ‘हामीले स्थानीस्तरमै प्याजको ब्राण्ड पनि बनाएका छौं । बैतडी स्थानीय जात भनेर प्रमाणीकरण पनि भएको छ । हामीले प्याजको बेर्नाबाटै लाखौं आम्दानी गरेका छौं ।’

जिल्लाको पाटन नगरपालिका ९ खालीडाँडाका किसानहरुले पनि यो बर्ष प्याजको बेर्नाबाट लाखौं आम्दानी गरेका छन् । गाउँबाट २५ लाखको हाराहारीमा प्याजको बेर्ना विक्रि भएको किसान जयन्ती बिजलेले बताइन् । आफूले प्याजको बेर्नाबाट यो बर्ष ४ लाख कमाएको उनले सुनाइन् । उनले भनिन् ‘हामी पहिलादेखि प्याजको बेर्ना राख्दै आएका छौं । अन्य बर्षको तुलनामा यो बर्ष प्याजको बेर्नाबाट राम्रो कमाई भएको छ ।’

Atrya hospital

प्याजको बेर्नाका साथै आफू व्यवसायिक तरकारी खेतीमा लागेको उनले सुनाइन् । उनले भनिन् ‘महिला केही गर्न सक्तैनन् भन्नेलाई चुनौती दिदै म आँफै तरकारी खेतीमा लागेकी छु । तरकारीको बेर्ना बनाउने, बजार सम्म पुर्याउने सबै काममा सरीक हुने गरेकी छु ।’

दश रोपनी बढी जमीनमा प्याजको बेर्ना राख्ने गरेकी जयन्तीले प्याजकै बेर्ना बेचेर लाखौ कमाइ गर्ने गरेको बताइन् । उनले भनिन् ‘हामीले बीस रोपनी जमीनमा तरकारी खेती गर्दै आएका छौं । प्याजको बेर्ना बनाउने सिजनमा आधा जमीनमा प्याजको बेर्ना बनाउछौं ।’

यो बर्ष ५० रुपैंयामा एक मुठो प्याजको बेर्ना विक्रि गरेको बिजलले बताइन् । एक मुठोमा ६० देखि ७० बोटा राखिएका उनले बताइन् । 

यस्तै दशरथचन्द नगरपालिकाको वडा नं २ थलाल गाउँका किसानहरुले पनि प्याजको बेर्नाबाट लाखौं आम्दानी गर्ने गरेका छन् । करीब २५ परिवारले व्यावसायिक रुपमा प्याजको बेर्ना उत्पादन गर्ने गरेको किसान राजमति थलालले बताइन् । उनले भनिन् ‘थलालगाउँका किसानहरुले सिजनमा एकजनाले कम्तीमा ५० हजारको प्याजको बेर्ना विक्रि गर्ने गरेका छन् । प्याजको बेर्नाबाटै उनीहरुले जिविकोपार्जन गरिरहेका छन् ।’

जिल्लाका विभिन्न स्थानमा गत महिना सम्पन्न भएका जात्राहरुमा प्याजको बेर्नाको विक्रि भएको किसानहरुले बताएका छन् । ‘जात्रा लागेका ठाउँमा हामीले प्याजको बेर्ना लगेर गयौं । प्याजको सबै बेर्ना बेचियो । यसले हाम्रो आम्दानी पनि भएको छ ।’किसान हरिसिंह बिजलले भने, ‘जति उत्पादन गरेपनि बजारको अभाव छैन् । प्याजको बेर्नाको बजार राम्रो छ ।’

यस्तै पाटन नगरपालिका वडा नं १० सिद्धपुरका किसानहरुले पनि प्याजको बेर्नाबाट आम्दानी गर्ने गरेका छन् । प्याजको बेर्नाबाट सिजनमा राम्रै कमाइ हुने गरेको किसान मनिराम भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update