प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूले सभापतिमा जित्नैपर्ने बताएका छन्। आइतवार काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा देउवाले आफू सभापतिमा हारे नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकाले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए।
‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ‚ राष्ट्रिय चुनावसम्मका लागि‚’ देउवाले भने‚ ‘त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ।’
देउवाले सभापतिमा आफूले जिते मात्र सबै पार्टीलाई मिलाएर सरकार बनाउने सक्ने दाबी समेत गरेका छन्।
‘मैले जितेको खण्डमा मात्रै सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलको सरकार बनाउन सक्नेछु। त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ‚’ उनले भने‚ ‘हार्नेलाई प्रधानमन्त्रीबाट हटाउनेछन्। प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ? अघिल्लो पटक के भएको थियो हालत?’
-थाहा खबर