बैतडी –फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ । हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए ।
विसं २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या एक लाख ४४ हजार ९०२ रहेको छ । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रोलिङ्गी रहेका छन् । त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत एक हजार १८० जनाले नाम दर्ता गराइसेकेका छन् ।
निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो ।
विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको सङ्ख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।
गएको पुस ५ गते सङ्घीय संसद् विघटनपश्चात मतदाता नामावली सङ्कलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो । त्यसपछि साउन १ गतेदेखि पुनः नामावली सङ्कलनको कार्य सञ्चालन भइरहेको छ ।
हाल पालिकास्तरमा सञ्चालनमा रहेको नामावली सङ्कलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताए ।
आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।