Sagun Khabar
किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धि  सार्वजनिक सुनुवाई 

बैतडी –बैतडीमा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए ) र फाया नेपालको आर्थिक सहयोगमा रेडियो निङ्गलाशैनीले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । 

विरेन्द्र मावि शाहीलेकमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा किशोरकिशोरीहरुले विभिन्न प्रश्न राखेका थिए । किशोरकिशोरीका प्रश्नको जवाफ दिँदै स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बृहत यौनिकता शिक्षा पाठ्यक्रममा आधारित शिक्षा भएकाले यसको बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । बृहत यौनिकता शिक्षा जीवनोपयोगी शिक्षा भएकाले विद्यालयस्तरमा समेत यसको पठनपाठन हुनुपर्नेमा जोड दिए । 

Atrya hospital

किशोरकिशोरीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले नगरपालिकाभित्रका ५ ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको बताए । उनले भने ‘चालु आर्थिक बर्षमै ५ ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि ५० हजारका दरले बजेटको व्यवस्था गरेका छौं ।’

यस्तै सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बृहत यौनिकता शिक्षा र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा सबै विद्यालयमा पढाई हुनुपर्नेमा जोड दिए । जिल्लाभरी अहिले सम्म १३ ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना भएको बताउँदै उनले यसलाई अन्य विद्यालयहरुले पनि विस्तार गर्नुपर्ने बताए । 

सार्वजनिक सुनुवाई कार्यक्रममा एक सय बढी किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले युवा तथा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा सबैलाई जानकारी दिनका लागि विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update