बैतडी –बैतडीको पाटन नगरपालिकाले विद्यालयहरुमा वितरण गरेको सेनेटरी प्याडहरु कमसल खालका भएको गुनासो आएको छ । नगरपालिकाले नगर क्षेत्रका ३५ ओटा विद्यालयका छात्राहरुलाई लक्षित गरेर सेनेटरी प्याड वितरण गरेको भएपनि प्रयोग गर्न नमिल्ने खालका भएका छात्राहरुले गुनासो गरेका छन् ।
नगरपालिकाले विद्यालयमा वितरण गरेका प्याडहरु दराजमा थन्काएर राख्नुपर्ने अवस्था आएको विद्यालयका शिक्षकहरुले बताएका छन् । नगरपालिकाले वितरण गरेका प्याडहरु प्रयोग गर्न मिल्ने खालका नभएकाले छात्राहरुले नलग्ने गरेको कृष्ण माविका शिक्षिका राजश्री बिष्टले बताइन् ।
विद्यालयमा वितरण गरेका सेनेटरी प्याडहरु काम नलाग्ने खालका भएको सिद्धेश्वर मावि मेलचोरका शिक्षक गोपाल भट्टराईले बताए । छात्राहरुलाई महिनावारी भएको बेला सहज होस भनेर वितरण गरेका प्याडहरु प्रयोग गर्नै नमिल्ने खालका भएका उनले बताए ।
यता पाटन नगरपालिकाले भने ठेक्का प्रणाली मार्फत प्याडहरु खरीद गरिएको जनाएको छ । करीब १७ लाखको लागतमा खरीद गरिएका प्याडहरु सप्लायर्सले नै विद्यालयमा पुर्याएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए । उनले भने ‘हामीले ठेक्का प्रक्रिया मार्फत प्याडहरु खरीद गरेका हौं । प्याडहरु कमसल आए भन्ने गुनासो हामी कहाँ पनि पुगेको छ । अबका दिन सुधार गर्नेछौं ।’