Sagun Khabar
डडेल्धुराको रुवाखोलादेखि राजनीतिको केन्द्र सम्म देउवा 

बैतडी –२००४ जेठ ३० गते डडेलधुराको असिग्राम रुवाखोलामा जन्मेका शेरबहादुर देउवा जीवनको उत्तराद्र्धमा फेरी एक पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । 

प्रतिस्र्पधी शेखर कोइरालालाई पराजित गरेर देउवा सभापतिमा निर्वाचित भएका हुन् । देउवाले २ हजार ७३३ मत ल्याए । कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत बदर गएका थिए । मंगलवार दोस्रो चरणको मतदानमा ४ हजार ६२३ प्रतिनिधिले भाग लिएका थिए ।

विपी कोइरालाबाट प्रभावित भएर देउवा राजनीतिमा प्रवेश गरेको उनी नजिकका नेताहरुले बताउने गरेका छन् । युवा अवस्थामा देउवा युवाहरुका माझ निकै लोकप्रिय रहेका उनीसंगैका नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थीले बताए । 

Atrya hospital

बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका उनी २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गर्न सफल भए । त्यसअघि २०३६ को जनमत संग्रहमा पूर्व–पश्चिमसम्मका सभा–समारोहमा बीपी कोइरालासँगै खटिएका थिए । पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी १० वर्ष जेलजीवन बिताएका छन् । 

२०४६ को परिवर्तनसँगै खुला राजनीतिक परिवेशमा पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईसहित नेताको सहयोग लिँदै अघि बढेका देउवाले पछि गिरिजाप्रसादलाई पार्टी नेतृत्वमा चुनौती दिए । संस्थापक नेता भट्टराईसंग उनी नजिक रहेर काम गरे । 

पार्टीभित्र विवाद भएपछि उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) नामक छुट्टै पार्टी समेत खोलेका थिए । त्यसपछि फेरी कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकीकरण भएका थिए । 

पार्टी नेतृत्वका लागि अघि बढेका देउवा दशौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२ औं महाधिवेशनमा सुशील कोइरालासंग पराजित भएका थिए । 

पश्चिमा मुलुकसंग सुमधुर सम्बन्ध भएको मानिने देउवा एक दशकअघि नै प्रधानमन्त्री र विपक्षी दलको नेता भइसकेका व्यक्ति हुन् । ०४८ यताका संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका छन् । 

२०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनी पाचौं पटक प्रधानमन्त्री बनीसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update