काठमाण्डौ –नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीवार तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत पाइन् । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्त (२ हजार १ सय ५ मत) लाई हराएकी हुन् ।
यस्तै सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । सभापति देउवाको प्यानलका उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत पाएका छन् । आङ्दाम्बेले डा. कोइरालाको प्यानलका उम्मेदवार विकास लामा (१ हजार ९ सय १३ मत) लाई हराएका हुन् ।
यस्तै सहमहामन्त्री दलिततर्फ कोइराला प्यानलका जीवन परियार २ हजार २ सय १२ मत ल्याएर निर्वाचित भएका छन् । परियारले देउवा प्यानलका मानबहादुर विश्वकर्मा (२ हजार १ सय ७५ मत) लाई हराएका हुन् ।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको हो । बाँकी मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको शुक्रवार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।