कैलाली –कैलालीका युवक अर्जुन दासको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दासको हत्या गरेको आरोपमा लम्की टीकापुर क्षेत्रबाट कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको हो । तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।
दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो । उनको घाँटी रेटर विभत्स हत्या भएको थियो । दासको हत्यापछि उनका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव उठाउन नदिने अडान राखेका छन् । उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेका छन् ।
दासको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।
फोन रेकर्ड मृतकमी श्रीमतीबाट बरामद भएको प्रहरी स्रोतले जनाएको छ । मृतकी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।
मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन् ।