बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाको एक विद्यालयको भवन पहिरोले भत्काएपछि विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन गत असोजमा खसेको पहिरोले भत्काएको हो । विद्यालयको ७ कोठे भवन पहिरोले भत्काएपछि विद्यार्थीहरुलाई खुला चौरमा राखेर पठनपाठन गर्नुपरीरहेको विद्यालयकी प्रधानाध्यापक निर्मला चन्दले बताइन् । उनले भनिन् ‘गत असोज ४गते खसेको पहिरोले विद्यालयको भवन भत्काएको हो । विद्यालय भवन नहुँदा बालबालिकाहरुलाई चौरमा राखेर पठनपाठन गर्दैछौं ।’
कक्षा ५ को सम्म पढाई हुने सो विद्यालयमा अहिले ७८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय भत्केको ठाउँमा चौर समेत झण्डै १ किलोमिटर माथि डाँडामा पठनपाठन कार्य गराईरहेको प्रधानाध्यापक चन्दले बताइन् ।
पहिरोले विद्यालयको ७ कोठे भवन भत्काएको बिषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाईमा पत्राचार गरेर विवरण बुझाएको भएपनि केही पहल नभएको उनले सुनाइन् । उनले भनिन् ‘बालबालिकाहरुलाई खुला चौरमा निकै समस्या भएको छ ।
विद्यार्थीहरुलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन भने बालबालिकाहरुलाई घामपानी परेको बेला ओत लाग्ने ठाउँ छैन् विद्यालय भएका सबै फर्निचर, कुर्सी लगायतका सामग्री पनि पहिरोले नष्ट भएका उनले बताइन् ।