बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता, अशक्त, असहाय र जेष्ठ नागरिकको गाउँबाटै तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालेको छ । नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण संकलन गरेर उनीहरुको नागरिकता जारी गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
अन्य कामको सिलसिलामा स्थानीय तहहरुमा कर्मचारी खटिएका बेला नागरिकता लागि आवश्यक कागजात संकलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै गाउँमा पठाउने गरेको भारतीले बताए ।
नले भने ‘हामी अन्य विकास निर्माणका कामहरुको अनुगमनको सिलसिलामा पनि विभिन्न ठाउँमा जाने गरेका छौं । त्यहाँ गएको बेला प्रशासनमा आउन नसक्ने मानिसहरुको नागरिकताका लागि कागजात लिएर आउँछौं । अनि नागरिकता बनाएर गाउँमै पठाइदिन्छौं ।’
अहिले सम्म सिगास गाउँपालिकाका ७ जना अपांगता भएका नागरिक, अशक्त र जेष्ठ नागरिकको नागरिकता बनाएर पठाएको सूचना अधिकारी भारतीले बताए ।
पञ्चेश्वर गाउँपालिकाका ३५ जना, शिवनाथ गाउँपालिका ६ जना र मेलौली नगरपालिकाका ७ जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने भारतीले बताए ।
पौष ११ गते डिलाशैनी गाउँपालिकाको धामीगाउँ र पौष १२ गते दोगडाकेदारमा पनि कर्मचारी खटाइने भारतीले बताए ।