Sagun Khabar
बैतडीमा बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रमको अनुगमन 

बैतडी–बालविवाह अन्त्यका लागि बैतडीमा सञ्चालन भईरहेको रुपान्तरण कार्यक्रमको अनुगमन गरिएको छ । जिल्लाको मेलौली नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित रुपान्तरण कक्षाको संयुक्त अनुगमन टोलीले किशोरकिशोरीहरुसंग अन्तरक्रिया गरेको हो । 

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको नेतृत्वमा रहेको अनुगमन टोलीमा वडा अध्यक्ष, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका शिक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 

Atrya hospital

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा भिएसओ र पिसवीनले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रमले समाजमा पारीरहेको प्रभावका बिषयमा अनुगमन गरिएको पीसवीनका फिल्ड सुपरभाइजर कृष्णदत्त भट्टले बताए । 

बालविवाह अन्त्यका लागि विभिन्न ठाउँमा सञ्चालन भएका रुपान्तरण कक्षाले बालविवाह कम गर्न महत्वपूर्ण भूमिका खेलेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । उनले भने ‘किशोरकिशोरीहरुमा यो कार्यक्रमले जागरण पैदा भएको पाइएको छ । जसले गर्दा किशोरकिशोरीहरु बालविवाहले पार्ने समस्याका बारेमा जानकार हुन थालेका छन् । यसले बालविवाह अन्त्यका लागि सहयोग पुग्दछ ।’

रुपान्तरण कार्यक्रम अन्तर्गत अहिले जिल्लाको मेलौली नगरपालिका,सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा किशोरकिशोरी रुपान्तरण कक्षा सञ्चालनमा रहेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

रुपान्तरण कक्षामा किशोरकिशोरी सहजकर्ताहरुले हरेक हप्ता विभिन्न बिषयमा छलफल गर्दै आईरहेका उनले बताए । 
रुपान्तरण कक्षाका माध्यमबाट किशोरकिशोरीहरुको जीवनमा धेरै कुरामा परिवर्तन आएको दुर्गा मावि खलिगडाका प्रधानाध्यापक पदमराज जोशीले बताए । उनले भने ‘रुपान्तरण कक्षामा धेरै जिवनोपयोगी शिक्षाका बारेमा छलफल हुन्छ । यसले किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।’
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update