बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाभित्रका विभिन्न १० ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिने भएको छ । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिन र बृहत यौनिकता शिक्षाका बिषयमा उनीहरुलाई जागरुक गराउन विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिने दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए ।
बिहीबार दशरथचन्द नगरपालिकामा बसेको बृहत यौनिकता शिक्षा प्राविधिक कार्य समूहको बैठकले १० ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको नेपाल परिवार नियोजन संघ पाटन बैतडीका प्रबन्धक उद्धव भट्टले बताए । पहिलो चरणमा ५ ओटा विद्यालय र दोश्रो चरणमा ५ ओटा विद्यालयमा सूचना केन्द्र स्थापना गरिने उनले बताए ।
दशरथचन्द नगरपालिकाको वडा नं १ मा रहेको शोभा माविमा मात्रै अहिले किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा रहेको छ ।
निङ्गलाशैनी मावि देहीमाण्डौं, कुलौन मावि खतेडी, विरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा, दानेश्वर मावि बाराकोट, कालिका मावि थालीगडा, केदारशिला मावि सुर्काल, जोशीबुंगा मावि लमौता र केदारनागार्जुन मावि बग्लेखानमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन गरिने बताइएको हो ।
किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि फाया नेपालले सहयोग गर्दै आईरहेको छ । बृहत यौनिकता शिक्षाका बिषयमा समुदायस्तरमा सचेतना फैलाउनका लागि अहिले विभिन्न निकायसंग मिलेर काम भईरहको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।