बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र फेरी डाक्टर विहिन भएको छ । तल्लोसोराड क्षेत्रका तीनओटा स्थानीय तह पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भएको स्थानीयहरुले बताएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रही आएको मेलौलीका स्थानीय केशवसिंह भाटले बताए । उनले भने ‘केही दिनका लागि डाक्टर आउँछन् । फेरी जान्छन् यसले गर्दा हामीहरुलाई धेरै समस्या भएको छ । समान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रही आएको छ ।’
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतको दरबन्दी भएपनि दरबन्दी पदपूर्ती हुन सकेको छैन् । नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो तीन महिना यता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । उनले भने ‘नगरपालिकाले थप तलब राखेर करारमा एकजना चिकित्सक राखेको थियो । तर उनी पनि पढाईका लागि भन्दै गएपछि समस्या भएको छ ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा विभिन्न सेवाहरु अवरुद्ध भएका छन् । इसजी, अल्ट्रासाउण्ड लगायतका सेवाहरु अवरुद्ध भएका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । उनले भने ‘विभिन्न मेसिनहरु भएपनि त्यसबाट प्राप्त रिपोटको बारेमा विश्लेषण गर्न अप्ठ्यारो भईरहेको छ । हामीले हाम्रो क्षमताले भ्याएसम्म काम गरिरहेका छौं ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । यस्तै निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था रही आएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर मात्रै नभएर स्टाफ नर्स समेत छैनन् । एकजना स्टाफ नर्सको दरबन्दी भएको केन्द्रमा लामो समयदेखि दरबन्दी रिक्त रहेको जनस्वास्थ्य निरीक्षक दयालले बताए ।