बैतडी –बैतडीमा यही पौष ६ गतेदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप दिने कार्य भईरहेको छ । जिल्ला १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै खोप दिने कार्य भईरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
अन्य समूहको तुलनामा बालबालिकाहरु खोप लगाउन खुसी र उत्साहित पाइएको भट्टले बताए । जिल्ला खोप समन्वय समितिले खोप अभियानको अनुगमनका क्रममा बालबालिकाहरु खुसी भएर खोप अभियानमा सहभागी भएको पाइएको उनले बताए ।
अन्य समूहको तुलनामा बालबालिकाहरु कोरोना विरुद्धको खोप लगाउन निकै उत्साहित रहेका भट्टले बताए । उनले भने ‘हामीले जिल्लाभरी यो भन्दा पहिला १८ बर्ष माथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेका थियौं । शुरुमा धेरैले खोप लगाउनै मानेका थिएनन् । तर अहिले बालबालिकाहरु खोप लगाउन निकै उत्साहित देखिएका छन् ।’
जिल्लाभरी ३८ हजार ८१२ जना १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका रहेका छन् । जिल्लाको सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सम्पन्न भईसकेको छ भने अन्य पालिकाहरुमा खोप अभियान जारी रहेको छ । पौष ११ गते सम्म खोप अभियान जारी रहने स्वास्थ्यका कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले बताए ।
बालबालिकाहरु खोप लगाउन निकै उत्साहित भएका मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताए ।