Sagun Khabar
प्रभावकारी बन्दै किशोरकिशोरीमैत्री सूचना केन्द्र 

बैतडी– बैतडीका विभिन्न विद्यालयहरुमा सञ्चालन गरिएका किशोरकिशोरीमैत्री सूचना केन्द्र प्रभावकारी बन्दै गएका छन् । किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर बोल्ने वातावरणको विकासका लागि किशोरकिशोरीमैत्री सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेलेको ज्ञानेश्वर नमूना माविकी छात्रा लक्ष्मी भण्डारीले बताइन् । उनले भनिन् ‘हामीलाई पहिला पहिला महिनावारीका बारेमा समेत थाहा थिएन् । किशोरकिशोरीमैत्री सूचना केन्द्रमा विभिन्न पाठ्यसामग्रीको अध्ययनपछि हामीले यसको बारेमा थाहा पाएका हौं ।’

किशोरकिशोरीमैत्री सूचना केन्द्रमा यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा विभिन्न छलफल हुने गरेको ज्ञानेश्वर नमूना माविका श्रोत शिक्षक धनबहादुर महराले बताए । उनले भने ‘अहिले हामीलाई कक्षाकोठामा पठनपाठन गराउन समेत सजिलो भएको छ । यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा खुलेर छलफल हुन थालेको छ ।’

जिल्लाका २० ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना भएका छन् । ती केन्द्रहरुमा विद्यार्थीहरु यौन तथा प्रजनन स्वास्थ्यका बारेमा छलफल गर्ने गर्दछन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गर्ने नीति ल्याएको हो । 

Atrya hospital

किशोरकिशोरीमैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गरेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । उनले भने ‘यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रहरुले सहयोग गरेको छ । केन्द्रमा सहभागी विद्यार्थीहरु यो बिषयमा जानकार भएका छन् ।’

जिल्लाको दशरथचन्द नगरपालिकाले १० ओटा विद्यालयमा चालु आर्थिक बर्षमै किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको र त्यसका लागि ५० हजारका दरले विद्यालयहरुमा बजेट पठाइने नाथले बताए । 

यस्तै पाटन नगरपालिकाले पनि विद्यालयमा स्थापना भएका सूचना केन्द्रहरुलाई प्रभावकारी बनाउनका लागि सहयोग गर्ने नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । 

किशोरकिशोरीमैत्री सूचना केन्द्रले विभिन्न हानिकारक प्रचलन हटाउन सहयोग गरेको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । 

किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यार्थीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बुझ्न सजिलो भएको दुर्गा मावि खलिगाडका प्रधानाध्यापक पदमराज जोशीले जोशीले बताए । 

बैतडीमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ पाटन बैतडी र फाया नेपालले सहयोग गर्दै आईरहेको छ । बृहत यौनिकता शिक्षाका बिषयमा समेत जानकारी दिनका लागि किशोरकिशोरीमैत्री सूचना केन्द्रहरुले सहयोग गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।  

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update