बैतडी – ट्राफिक प्रहरीले जिपको पछाडी यात्रु बोक्न नदिएपछि बैतडीमा जिप व्यवसायीले मनोमानी भाडा असुल गर्न थालेका छन् । जिल्लामा छोटो दुरीमा चल्ने जिपहरुले मनोमानी भाडा असुल गर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिप व्यवसायीहरुले अहिले सतबाँझदेखि गोठलापानी सम्म अढाईसय देखि तीनसय सम्म भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ ।
पहिला नै बार्गेनिङ गरेर यति दिए मात्रै जान्छौं नत्र जाँदैनौं भनेर जिप व्यवसायीहरुले भन्ने गरेको यात्रुहरुको गुनासो छ । जिपको पछाडि यात्रु बोक्न नपाउँदा आफूहरुलाई घाटा हुने गरेको व्यवसायीहरुको तर्क छ ।
जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले कडाई गरेको छ । बोलेरो जिपहरुले ६ सीट मात्रै पास गरेकाले उनीहरुले पछाडी यात्रु बोक्न नपाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए ।
बढी भाडा असुलेको भए आफूहरुलाई खबर गर्न पनि उनले आग्रह गरे । तर जिप व्यवसायीले चढ्नुभन्दा पहिला नै यति रकम दिएमात्रै गन्त्वयमा जाने कुरा गर्ने भएकाले रिपोर्टिङ गर्न पनि समस्या भएको यात्रुहरुले बताएका छन् ।
जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले जिल्लाभरी चेकिङ बढाएको छ तर पनि बढी भाडाको मारमा भने यात्रुहरु परेका छन् ।
चालु आर्थिक बर्षको अहिले सम्म सवारी दुर्घटनामा परेर १५ जनाको ज्यान गईसकेको प्रहरीको तथ्यांक छ । सवारी दुर्घटना न्यूनीकरणका लागि क्षमताभन्दा बढी यात्रु बोक्न नदिने ट्राफिक प्रहरी प्रमुख रावलले बताए । उनले भने ‘क्षमताभन्दा बढी यात्रु बोकेका कारणले पनि दुर्घटना हुने गरेका छन् । त्यसैले हामीले पास भएको सीट क्षमता भन्दा बढी यात्रु बोक्न दिएका छैनौं ।’
चालकहरुलाई समेत ट्राफिक नियमका बारेमा सम्झाउने गरेको रावलले बताए ।