बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक पदम अवस्थीमाथि खुकुरी प्रहार भएको छ । आफ्नै साथीलाई खुकुरी हानेर भागेका रामेछाम लिखुका शनि तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरी प्रभाग धर्मस्थली काठमाण्डौंमा कार्यरत अवस्थीमाथि खुकुरी प्रहार भएको हो ।
अवस्थीको टाउकोमा पाँटओटा टाँका लागेको उनका भाई शंकरदत्त अवस्थीले बताए । उनको बीर अस्पालमा उपचार भईरहेको छ ।
यसैबीच आफ्नै साथी र प्रहरी नायव निरीक्षक अवस्थीलाई खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हानेर शनि भागेका थिए ।
उनलाई पक्राउ गर्नका लागि प्रहरीले पिछा गरेको थियो । सोही बेला तामाङले प्रहरी नायव निरीक्षक अवस्थीमाथि समेत खुुकुरी प्रहार गरेका थिए । तर उनलाई पक्रन भने प्रहरी सफल भएको थियो ।