कैलाली–धनगढीको सार टीमले कार निर्माण गरेको छ । एक्सिस विद्याश्रमको कक्षा १० मा अध्ययनरत ४ जना विद्यार्थीको सार टीमले ‘अल्फा’ नामक कार निर्माण गरेको हो । कोरोना महामारीको अवधिमा लागू भएको निषेधाज्ञाको समयमा एक्सिसका ती विद्यार्थीले ४ महिना लगाएर चार चक्के इलेक्ट्रिक कारको निर्माण गरेका हुन् ।
१६ वर्ष भन्दा मुनिका ४ जना किशोर ऋषिकेश थापा, रोहीत ऐर, आदित्य जोशी र सक्षम रेग्मीले विद्युतबाट सञ्चालन हुने कार निर्माण गरेका हुन् ।
एक लाख ५० हजारको लगानीमा विभिन्न सामग्रीहरु जुटाएर आफ्नै परिश्रमबाट गाडी निर्माण गरेको ऋषिकेश थापाले बताए ।
४ जना किशोरले आफ्नै हातबाट निर्माण गरेको अल्फा नामक कारलाई आइतबार सार्वजनिक गरिएको छ । अहिले सार्वजनिक गरिएको कारले ७ क्विन्टल बोक्न सक्ने बताइएको छ । अन्य गाडी जस्तै देखिने अल्फा कारलाई पनि बजारमा ल्याउने तयारी सार टीमको छ । सबै निकायबाट सहयोग प्राप्त भए नयाँ सामान पनि उत्पादन गर्ने योजना सार टीमले बनाएको छ ।