Sagun Khabar
बैतडीमा फोटो सहितको मतदाता नामावली बिशेष कार्यक्रममा झण्डै ६ हजारको नामदर्ता 

बैतडी –आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्तिले आफ्नो नाम दर्ता गराएका छन् । 

सबै स्थानीय तहमा सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली बिशेष कार्यक्रम अन्तर्गत ५ हजार ८ सय ११ जनाले नाम दर्ता गराएका हुन् । प्रत्येक पालिकाका केन्द्रमै १० दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए । 

Atrya hospital

बिदाका दिन समेत गरेर दुई चरणमा सञ्चालन भएको सो अभियानअन्तर्गत मंसिर १६ देखि मंसिर २६ गतेसम्म पहिलो र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा कार्यक्रम सञ्चालन भएको थियो । 

पहिलो चरणमा डिलाशैनी गाउँपालिका , सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा नामदर्ता संकलन गरिएको थियो । दोस्रो चरणमा दोगडाकेदार गाउँपालिका , सुर्नया गाउँपालिका , शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो । 

अभियान अन्तर्गत सबैभन्दा बढी पुर्चौडीमा १ हजार २३८ र सबैभन्दा कम पञ्चेश्वरमा ११६ जनाले फाटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै पाटनमा १ हजार ७ , जिल्ला प्रशासनमा ८९२, मेलौलीमा ५१४, दोगडाकेदारमा ४८५, डिलाशैनीमा ४५३, सुर्नयामा ४२८, शिवनाथमा ३३३, सिगासमा २८८ र निर्वाचन कार्यालयमा ५७ जनाले नाम दर्ता गराएका हुन् । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ९ मा उक्त कार्यक्रम सञ्चालन भएको र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदा सम्म नामदर्ता गर्ने कार्यक्रम जारी रहने जिल्ला निर्वाचन अधिकारी फुयाँलले बताए । 

यसैबीच हाल पनि जिल्लाका ३ स्थानबाट फोटो सहितको नामावली संकलन कार्य भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौडीबाट नामावली संकलन कार्य भइरहेको हो । इलाका प्रशासनबाट पुस १९ गतेसम्म नामावली संकलन गरिनेछ भने प्रशासन र निर्वाचन कार्यालयको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म सञ्चालन हुने जनाइएको छ । 

बैतडीमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update