Sagun Khabar
बैतडीको सिगास गाउँपालिका वडा नं १ मा मजदुरद्वारा तालाबन्दी 

बैतडी – बैतडीको सिगास गाउँपालिका वडा नं १ मा तालाबन्दी गरिएको छ । विद्युत विस्तारको क्रममा गरेको कामको भुक्तानी नभएको भन्दै मजदुरहरुले वडा कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन् । 

विद्युत विस्तारको क्रममा ४ बर्ष अघि काम गरेको पैसा अहिले सम्म नपाएकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको त्यहाँका स्थानीय मजदुर बल्देव ऐरीले बताए । ८ जना मजदुरको ५५ हजार रुपैंया वडा कार्यालयले भुक्तानी नगरेको उनले बताए । 

Atrya hospital

यस्तै विद्युत विस्तारको क्रममा स्थानीय सुरेन्द्र ऐरीलाई चोट लागेको र उनको उपचारमा २० हजार खर्च भएको थियो । त्यो रकम समेत उनीहरुले नतिरेको ऐरीले बताए । उनले भने ‘उपचार गर्ने बेला अहिले तपाँईहरु तिर्नोस पछि तिर्छु भने तर अहिले सम्म पैसा तिरेको छैन् ।’

मजदुरहरुले आफूहरुले काम गरे बाफतको रकम भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए । प्रशासनले गाउँपालिकालाई पत्र लेखेको थियो । गाउँपालिकाले वडा कार्यालयलाई भुक्तानी गर्न भनेर पत्र पठाएको एक महिना बितिसक्दा समेत वडा कार्यालयले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरेको स्थानीय सुुरेन्द्र ऐरीले बताए । उनले भने ‘हामीले वडा कार्यालयलाई ५ दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थियौं । तर हाम्रो समस्या समाधान गर्न कुनै चासो नदिएपछि तालाबन्दी गरेका हौं ।’

वडा अध्यक्षले विद्युत तार समेत बेचेको मजदुरहरुले आरोप लगाएका छन् । एकलाखमा तार बेचेर समेत आफूहरुको भुक्तानी नगरेको उनीहरुको आरोप छ । 

यता वडा अध्यक्ष गगनसिंह धामीले भने सो कार्य उपभोक्ता समिति मार्फत भएको र उपभोक्ता समिति अध्यक्ष अहिले बाहिर भएकाले भुक्तानी गर्न नसकेको बताएका छन् । पौष २० गतेभित्रै मजदुरहरुको पैसा भुक्तानी गर्ने उनले दाबी गरेका छन् ।  

मजदुरहरुले भने आफूहरुले काम गरेको भुक्तानी नहुँदा सम्म ताला नखोल्ने जनाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update