बैतडी –बैतडीमा छुट मुक्त हलियाहरुको पुनस्र्थापनाका लागि छलफल गरिएको छ । स्थानीय सरकारहरुसंग छुट मुक्त हलियाका बारेमा छलफल गर्ने कार्यक्रम अन्तर्गत आज दशरथचन्द नगरपालिकामा अन्तरक्रिया गरिएको दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताइन् ।
दलित समाज विकास मञ्चले अहिले जिल्लाका दुईओटा पालिकामा छुट मुक्त हलियाहरुको अवस्थाका बिषयमा नमूना अध्ययन गरिरहेको समेत बताइएको छ । स्थानीय सरकारहरुलाई छुट मुक्त हलियाका बिषयमा जिम्मेवार बनाउन पालिकाहरुमा अन्तरक्रिया गर्ने गरिएको उनले बताइन् ।
केही दिन पहिला मेलौली नगरपालिकामा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया सम्पन्न गरिएकोमा आज दशरथचन्द नगरपालिकामा अन्तरक्रिया सम्पन्न गरिएको हो ।
बैतडीमा २ हजार २२ जना मुक्त हलिया प्रमाणीकरण भएकोमा १ हजार ५ जनाको मात्रै पुनस्र्थापना भएको छ । जिल्लाभरी ५ हजार भन्दा बढी हलियाहरु तथ्यांकमै नअटाएको यो क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले जनाएका छन् ।
मुक्त हलियाहरुको यकिन तथ्यांक नआएको र प्रमाणीकरण भएकाहरु मध्ये पनि सबैले सरकारी सुविधा नपाएको बताइएको छ । छुट मुक्त हलियाहरुलाई तथ्यांकमा समावेश गरी उनीहरुका समस्या समाधानका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउन दलित समाज विकास मञ्चले पहल गरिरहेको अध्यक्ष नेपालीले बताइन् ।
दशरथचन्द नगरपालिकामा आयोजना गरिएको अन्तरक्रियामा नगरप्रमुख नरेन्द्रसिंह थापा, मेलौली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलभद्र दयाल लगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो ।