बैतडी– बैतडीमा कोभीड संक्रमितहरुमाथि हुन सक्ने भेदभाव हटाउन छलफल गरिएको छ । कोरोना भाइरसका संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले त्यसलाई हटाउन छलफल गरिएको हो । संक्रमितहरुले विभिन्न खालका भेदभावको सामना गर्नुपरेको बताएकाले दशरथचन्द नगरपालिकामा आज सरोकारवालाहरुसंग छलफल गरिएको हो ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराले आयोजना गरेको छलफलमा कोभीडका बारेमा कमजोर बुझाईका कारण भेदभाव हुने गरेकाले यसको न्यूनीकरणका लागि सबैले लाग्नुपर्ने बताएका छन् । भेदभाव हुन सक्ने डरले धेरैले कोभीड जाँच नगर्ने, खुलेर बाहिर नआउने लगायतका समस्या भएकाले भेदभाव हटाउनुपर्नेमा छलफलमा जोड दिइएको छ ।
छलफलमा जिल्ला अस्पताल बैतडीका डा. थानेश्वर न्यौपानेले कोभीड १९ भाइरसका कारणले लाग्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताए । कोभीड भएको बेला हुने भेदभावले अन्य समस्या समेत निम्तिने भएकाले यस्ता भेदभावहरु हटाउन सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
छलफलमा एचआइभी संक्रमितहरुलाई कोभीडको बेला झन् भेदभाव हुन सक्ने भएकाले यो तर्फ पनि सरोकारवालाहरु जागरुक हुनुपर्ने कुरामा जोड दिइएको छ ।यस्तै एचआइभी र क्षयरोगका बिरामीहरुलाई पनि औषधि वितरणमा समेत कोभीडका कारणले समस्यामा पारेको बहुउद्देश्यीय विकास समाजका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताए ।