बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । विद्युत विस्तारको क्रममा काम गरेको पैसा नदिएको भन्दै स्थानीयहरुले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
मजदुरले ४ बर्ष सम्म पैसा नपाउँदा वडा कार्यालयमा तालाबन्दी गरेको समाचार रेडियो निङ्गलाशैनीबाट प्रशारण हुनुका साथै सगुन खबर डटकमबाट प्रकाशित भएको थियो ।
सोमबार साँझ आफूहरुले पाउनुपर्ने ५५ हजार रुपैंया वडा अध्यक्षले उपलब्ध गराएपछि वडा कार्यालयमा गरिएको तालाबन्दी खोलिएको स्थानीय बल्देव ऐरीले बताए ।
सिगास गाउँपालिका वडा नं १ मा विद्युत विस्तारको क्रममा त्यहाँका ८ जना मजदुरको पैसा ४ बर्ष सम्म भुक्तानी हुन सकेको थिएन् । उनीहरुले मजुदरी गरेर बाफतको पैसा भुक्तानीका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।
काम गरेको पैसा उपलब्ध नगराएपछि मजदुरहरुले सोमबार बिहान वडा कार्यालयमा तालाबन्दी गरेका थिए । सोमबार साँझ पैसा भुक्तानी गरेपछि सोमबार साँझ नै ताला खोलेको ऐरीले बताए ।
मजदुरको पैसा नदिएको बारेमा सगुनखबरसंग कुरा गर्दै सिगास गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गगनसिंह धामीले उनीहरुको काम गरेको पैसा केही दिनभित्रै भुक्तानी गर्ने बताएका थिए । तर सोमबार नै उनले मजदुरहरुको पैसा भुक्तानी गरेपछि वडामा गरिएको तालाबन्दी खुलेको स्थानीय सुरेन्द्र ऐरीले बताए ।
विद्युत विस्तारको क्रममा काम गर्ने बेला चोट लागेका सुरेन्द्र ऐरीको उपचार खर्च पनि केही दिनभित्रै उपलब्ध गराउने सहमति भएको छ ।