बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका १० विजयपुर घर भएका ४९ बर्षीय आनसिंह महराको भारतमा मृत्यु भएको छ । विगत ५ बर्षदेखि भारतको पिथौरागढ जिल्लाको नाचनी,बासबगड भन्ने ठाउँमा काम गर्दै आएका महराको ५ दिन अघि मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
रोजगारीका लागि भारतमा रहेका महरा ठेकेदारले काम गरेको पैसा नदिएकै कारण ५ बर्षदेखि घरमा समेत आउन पाएका थिएनन् । ठेकेदारले आजभोली भन्दभन्दै ५ बर्ष सम्म पैसा नदिएको मृतककी छोरी हजारी महराले बताइन् ।
महराको पौष ८ गते राती सुतेकै ठाउँमा मृत्यु भएपछि परिवारजनले कसरी मृत्यु भयो भन्ने कुरा समेत थाहा नपाएको उनले बताइन् ।
घरको आर्थिक अवस्था निकै कमजोर भएकाले भारतमा रोजगारी गर्नुपरेको र मजदुरी गरेको पैसा समेत ठेकेदारले नदिएपछि घर परिवार समेत विचल्लीमा परेको छ । काम गरेको पैसा असुल गर्न सहयोग गरिदिन मृतककी छोरी महराले सम्बन्धित निकायलाई आग्रह समेत गरेकी छिन् ।
मृतक महराका घरमा ७८ बर्षीय वृद्ध बुवा, श्रीमति, दुई छोरा र एक छोरी रहेका छन् ।