दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । गतसाता कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् जेलरसहित पक्राउ परेका प्रहरीहरु निलम्बनमा परेका छन् ।
उनिहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप समेत गरेर हिरासतमा राखिएको छ । छालाको उपचारका लागि भन्दै कारागारबाट निस्किएका प्रहरी जवान धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगइ होटलमा पुगेका थिए । थकाली होटलमा दुई जना महिलासहित पुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका हुन् ।