सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सो रात दुई जनाले बलात्कार गरेको र भोलिपल्ट अन्य ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् ।
उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो । पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताउनुभयो ।
लामो समयदेखि पति भारतमा बेपत्ता भएपछि काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमा काठमाडौं प्रवेश गर्नासाथ बलात्कारको शिकार भएकी हुन् । बलात्कारको पीडा खप्न नसकेर युवती आफैं गुहार माग्न प्रहरीकहाँ पुगेपछि प्रहरीले बलात्कारीहरुको खोजी गरी पक्राउ गरेको हो ।